लमजुङमा मह बिक्री बाट १८ करोड आम्दानी
लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव छ टनले मह वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका सूचना अधिकारी सरोज थापाका अनुसार यस वर्ष १७ हजार एक सय ९७ वटा मौरीका घार बाट एक सय २९ दशमलव १७ टन मह उत्पादन भएको छ ।
जिल्लामा किसानले यस वर्ष एक हजार पाँच सयका दरले बिक्री गरेको बताएका छन् । जिल्लामा किसानले यस वर्ष मह बिक्री बाट १८ करोड आम्दानी गरेको उनको भनाइ छ ।
यस्तै, गत वर्ष १३ हजार आठ सय ५० मौरीका घार बाट एक सय ११ दशमलव तीन टन मह उत्पादन भएको थियो । गत वर्ष प्रतिकिलो मह नौ सय देखि एक हजार सम्ममा बिक्री भएको थियो भने मह बिक्री बाट नौ करोड भन्दा बढी आम्दानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
विसं २०७९ मा १० हजार २५ मौरीका घार बाट ३२ टन मात्र मह उत्पादन भएको थियो । विसं २०७८ मा ११ हजार पाँच सय मौरीका घार बाट ३० टन मह उत्पादन भएको थियो ।
यस्तै, २०७७ सालमा ११ हजार सयवटा मौरीका घार बाट ३८ टन मह उत्पादन भएको थियो । केन्द्रका अनुसार २०७६ सालमा नौ हजार पाँच सय मौरी घारबाट ३४ टन तथा २०७५ सालमा पाँच हजार नौ सय मौरीका घार बाट ३२ टन मह उत्पादन भएको थियो ।
जिल्लामा यस वर्ष सबै भन्दा बढी सुन्दरबजार नगरपालिकामा मह उत्पादन भएको छ । यहाँ चार हजार पाँच सय घार बाट ३६ हजार केजी उत्पादन गरेको र यसबाट ५ करोड ४० लाख आम्दानी भएको सूचना अधिकारी थापाले बताए । जिल्लामा उत्पादित मह काठमाडौं, पोखरा, चितवन लगायत बजारमा खपत हुँदै आएको छ ।
जिल्लाका किसानले आधुनिक मौरी घार र प्रविधिको प्रयोग बाट मह उत्पादन गर्न थालेका छन् । नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखाका अनुसार लमजुङको सबै भन्दा बढी उत्पादन हुने सुन्दरबजार नगरपालिका, बेँसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका छन् । शाखामा जिल्लाका तीन सय ८२ जना भन्दा बढी मौरीपालक किसान आबद्ध छन् ।
पछिल्लो समयमा जिल्लामा मह उत्पादन बढ्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताए । उत्पादन बढ्नुका कारण पहिला सौखले मौरीपालन गरिन्थयो भने अहिले बुझेर मौरीपालन गर्न थालेका छन् । पहिला मौरीपालन सम्बन्धी नबुझी गरेको र अहिले विभिन्न निकायले यस सम्बन्धी तालिम प्रदान गरेकाले, मौरी चरन क्षेत्र राम्रो तथा पर्याप्त, हावापानी राम्रो, आधुनिक घारको प्रयोगलगायत कारणले मह उत्पादन बढ्दै गएको उनको भनाइ छ ।
जिल्लामा शेरना प्रजाति मौरीको मह उत्पादन गर्ने गरेको र यसले प्रतिघार पाँच देखि १० केजी सम्म मह उत्पादन गर्ने कृषि ज्ञान केन्द्र प्रमुख खतिवडाले बताए । कार्यालयले यस वर्ष एक सय २५ वटा मौरीका घार किसानलाई अनुदानमा वितरण गरेको थियो । कार्यालय बाट मौरीपालन लगायत कृषि क्षेत्रका किसानका लागि विभिन्न शीर्षकमा बर्सेनि साढे तीन करोड खर्च गर्दै आएको केन्द्रले जनाएको छ ।
रासस
प्रतिक्रिया