हुलाकी राजमार्ग चाँडो सम्पन्न गर्न सरकार तत्पर छ : मन्त्री दाहाल
नेपालगञ्ज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन हुलाकी राजमार्गको कामलाई छिटो–छरितो रुपमा सम्पन्न गर्न सरकार लागिपरेको बताएका छन् ।
नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा रहेको जीर्ण पुलको आज स्थलगत निरीक्षण गर्दै मन्त्री दाहालले ढिलासुस्ती नहुने गरी काम अघि बढाउन सरकार गम्भीर रहेको बताए ।
पेडारी नालाको पुलका लागि अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भइसकेकाले केही दिनमा टेण्डर आह्वान भई काम सुरु हुने उनले जानकारी दिए ।
मन्त्री दाहालले भने, ‘‘हुलाकी सडकअन्तर्गत खजुराको पेडारी नालासहित अन्य आवश्यक स्थानमा पुल निर्माणका लागि केही दिनमा टेण्डर आह्वान हुन्छ ।’’
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार पेडारी नालामा करिब रु १४ करोडको लागतमा २२ मिटर चौडाइ र ३३ मिटर लम्बाइको पुल निर्माण गरिने छ ।
प्रतिक्रिया