देशभर भइरहेको ढुङ्गा गिट्टी उत्खनन् रोक्न सर्वोच्चको परमादेश

काठमाडौं । देशभरका खोला तथा नदीनालामा कानुन विपरीत भएका रोडाढुंगा उत्खननको काम रोक्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले देशभर भइरहेको अवैध उत्खनन रोक्न सरकारलाई आदेश दिँदै त्यस्ता काममा संलग्न व्यक्ति, कम्पनी र संस्थालाई कारबाहीको दायरामा ल्याउन परमादेश जारी गरेको हो ।

देशभरका खोला तथा नदीनालामा भएको अवैध उत्खनन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए । सोही रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले अवैध उत्खननलाई नियमन गर्नु भनी आदेश जारी गरेको हो ।

यस्तो छ सर्वोच्चको पाँच बुँदे परमादेश

(क)   ढुङ्गा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ र वातावरण संरक्षण ऐन, २०७६ ऐ.को नियमावली २०७७ मा भएको कानुनी व्यवस्था विपरीत भएको उत्खननलाई तत्काल बन्द गर्नु\गराउनु 

(ख)  अनुमति नै नलिई उत्खनन गर्ने व्यक्तिm वा कम्पनी, संस्थालाई कारबाहीको दायरामा ल्याई उत्खनन कार्य तत्काल बन्द गर्नु\गराउनु

(ग) छ (६) वटै प्रदेशले तयार पारी लागु गरेको नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि, २०७५, नेपाल सरकारले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ समेत कार्यविधि र मापदण्ड प्राकृतिक स्रोत संरक्षण गर्नको लागी निर्माण भए पनि माथि उल्लेख भएको समस्याको स्थायी रूपमा समाधान गर्न र नदीको संरक्षण गर्न एक छुटै नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत (उत्खनन तथा नियन्त्रण) ऐन तत्काल बनाई लागु गर्नु 

(घ) विपक्षी १ नंं. प्रदेशले नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न कुनै पनि कार्यविधि   हाल सम्म बनाएर लागु नगरेकोले तत्काल निर्माण गरी लागू गर्नु

(ङ) ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा १७ मा नदीजन्य पदार्थको उत्खनन गरिने स्थानको लम्बाइ चौडाइ तथा गहिराई सहितको चार किल्ला उत्खनन गर्ने अवधि र समय, प्रयाग गरिने साधन समेत जानकारी सहित उत्खनन स्थलमा सूचनापाटी अनिवार्य रूपमा मिलाउनु पर्नेछ भन्ने व्यवस्था भएता पनि हाल सम्म स्थलगत अध्ययनबाट सूचनापाटी राखेको नदेखिएकोले कार्य स्थलमा सूचनापाटी अनिवार्य राख्नु र सोको अनुगमन समेत गर्नु । 

प्रतिक्रिया