रवि लामिछानेसहित १४ जनाविरुद्ध सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज मुद्दा दायर गरेको हो ।
सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पुरक मुद्दा दायर गरेको छ । योसँगै सुप्रिम सहकारी ठगी प्रकरणमा ४२ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको हो ।
मुद्दामा सुप्रिम सहकारीबाट लामिछानेले २ करोड र जिबी राई सम्बद्धहरुको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ । जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध २०८१ वैशाख ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
त्यतिबेला सहकारी ठगीसम्बन्धी मात्र कसुर लगाई १ अर्ब ३ करोड बिगो माग गरिएको थियो । त्यसमध्ये १७ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुर र बिगो थपसहितको मुद्दा दर्ताको लागि बिहीवार अदालतमा पेश गरिएको थियो ।
प्रतिक्रिया