६५ फरार प्रतिवादी पक्राउ
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बाँके प्रहरीले सार्वजनिक गरेको पुसको प्रगति विवरणमा विभिन्न अपराध गरी लामो समय सम्म फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरिएको उल्लेख छ ।
पक्राउ परेका बाट १९ वर्ष चार महिना २७ दिन कैद र ५१ लाख ५५ हजार १३ जरिवाना असुल उपर गर्न बाँकी छ । फरार प्रतिवादीलाई जिल्ला प्रहरी बाँकेको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थान बाट पक्राउ गरेको बाँके प्रहरी निरीक्षक हेमराज विकले जानकारी दिए ।
उनका अनुसार पुसमा प्रहरीले भारत बाट भन्सार छली गरेर ल्याइँदै गरेको १२ लाख ९४ हजार एक सय ५८ बराबरको सामान बरामद गरेको छ । एक महिनामा दर्ता भएका एकसय १७ वटा मुद्दामा एकसय २१ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याउँदा ५३ वटा मुद्दा फछ्र्यौट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दर्ता भएका छ सय ८१ ठाडो उजुरी तर्फ छ सय ६८ फछ्र्यौट भएको र १३ वटा बाँकी निवेदन फछ्र्यौट प्रक्रियामा रहेका छन् ।
जिल्लाभर ट्राफिक कारबाही तर्फ तीन हजार ५७ वटा सवारीसाधनलाई कारबाही गर्दै रु २४ लाख ७५ हजार राजस्व सङ्कलन गरेको प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने सात वटा ट्र्याक्टर, एउटा टिपर र एउटा जेसीबीलाई नियन्त्रणमा लिएर ४८ हजार आठ जरिवाना गरिएको छ ।
सोही अवधिमा तीन जना चालकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा कारबाही गरिएको छ । त्यसैगरी बाँके प्रहरीले विभिन्न स्थान बाट हराएका तथा चोरी भएका चार वटा मोटरसाइकल र १० वटा स्मार्ट फोन फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी ४४ निवेदनमा ३२ जनालाई फेला पारेर घरपरिवारको जिम्मा लगाउँदा बाँकी खोजतलासको क्रममा रहेको उल्लेख छ । समुदाय प्रहरी सहकार्य लगायतका गतिविधि अन्तर्गत जिल्ला प्रहरीले बाँकेले ६३ वटा सचेतनामूलक कार्यक्रम गरेको छ ।
रासस
प्रतिक्रिया