डुम्रे–बेँसीसहर–चामे खण्डले सहज बन्दै मनाङको यात्रा
मनाङ । पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ ।
ट्रयाक खोलेको करिब २० वर्षपछि डुम्रे–बेँसीसहर–चामे खण्डले गति लिएपछि यात्रा सहज बन्दै गएको हो डुम्रे–बेँसीसहर–चामे आयोजनाले गत आर्थिक वर्षमा आठ किलोमिटर सडक कालोपत्र गरिसकेको आयोजनाका सब इञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार बेँसीसहरबाट खुदीसम्म आठ किमी सडक कालोपत्र सम्पन्न भएको हो । बेँसीसहर–चामे खण्ड अन्तर्गतका सडक र पुल निर्माणका लागि रु ५१ करोड बजेट विनियोजन भएको उनले जानकारी दिए ।
आयोजना निर्माणस्थलमा आवश्यक सामग्री ल्याउन सहज बनाउने उद्देश्यले सडक चौडाइ गर्ने, घुम्ती क्षेत्रमा पूर्वाधार र सडक निर्माणलगायत काम भइरहेका बुटवल हाइड्रोपावर कम्पनी लिमिटेडका सहायक प्रबन्धक प्रतिक मानसिंह प्रधानले जानकारी दिए । प्रधानका अनुसार सडक आयोजनासँग सम्झौता गरी आपसी समन्वयका आधारमा काम भइरहेको हो ।
मनाङको चामे गाउँपालिका–१, २ र ३, नासोँ गाउँपालिका–९, ८, ४ र ५ नम्बर वडामा पर्नेगरी निर्माणाधीन एक सय ३५ मेगावाट क्षमताको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाले यहाँको सडक विकासलाई प्राथमिकतामा राखी काम गरिरहेको प्रबन्धक प्रधानले बताए ।
उक्त जलविद्युत् आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच विसं २०७९ पुस ३ गते सम्झौता भएको थियो । यस आयोजनाको क्षमता एक सय ३५ मेगावट रहेको छ । चार वर्षमा आयोजना निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको हो ।
आयोजनामा नेपाली साझेदार बिपिसिले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससिआइजी इन्टरनेशनल, छिङचेङ इन्टरनेशनल र चिनियाँ लगानीकर्तामा क्यूवाइसी इन्टरनेशनलले संयुक्त रूपमा ८० प्रतिशत शेयर स्वामित्व रहनेगरी समझदारी भएको आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाको कूल लागत रु ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत पुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब रु एक अर्ब ३३ करोड पुँजी लगानी गर्नेछ । आयोजनाले वार्षिक रु ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ ।
आयोजना ‘पिकिङ रन अफ दि रिभर’ प्रकृतिको हुने कम्पनीका प्रबन्धक प्रधानले जानकारी दिए । वार्षिक सात सय ६६ दशमलव पाँच सय ९३ गिगावाट विद्युत् उत्पादन हुने अपेक्षा लिइएको प्रधानले बताए ।
रासस
प्रतिक्रिया