अत्याधिक बढेको चिसोका कारण तराई मधेशका विपन्न समुदाय बिचल्लीमा

सर्लाही । अत्याधिक बढेको चिसोका कारण तराई मधेशमा विपन्न समुदाय बिचल्लीमा परेका छन् । 

केही दिन देखि घाम लाग्न सकेको छैन । पश्चिमी हावा, चिसो स्याँठ र बाक्लो कुहिरोले सडकमा चहलपहल घटेको छ । पुसको अन्त्य देखि चिसो हावा सँगै यहाँ शीतलहर चलिरहेको छ । न्यानो कपडाको अभावमा विपन्नहरु परालकै ओछ्यान र परालकै ओढ्ने बनाएर दिन कटाइरहेका छन् । 

तराईका माझी मुसहर लगायत दलित समुदायको बस्तीहरूमा वर्षातको समयमा पानी चुहिने र जाडोको मौसममा शीतलहरका कारण जनजीवन कष्टकर हुँदै आएको छ । आफ्नो घर, जग्गा जमिन समेत नभएका भूमिहीन सुकुम्बासी, माझी, मुसहर तथा दलित समुदायका नगरिक शितलहरले समस्यामा परेका हुन् ।

विपन्न तथा मुसहरहरू जाडो छल्न अधिकांश समय बाटो घाटो तथा टोलटोलमा परालको आगो तापेर बस्न बाध्य छन् । तराईमा अत्यधिक बढेको चिसोका कारण जिल्लाका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा निमोनिया, दम, कमनकोल्ड, ज्वरो खोकीका बिमारीको चाप बढ्दै गएको छ । 

उता पश्चिम तराईमा पनि बिहानै देखि बाक्लो हुस्सु र शीतलहर चलिरहेको छ । रूपन्देही, नवलपरासी, कपिलवस्तु लगायत यस क्षेत्रका तराईका जिल्लाहरूमा आईतबार बिहानै देखि हुस्सु सहित शीतलहर चलेको छ । एक्कासि चिसो बढेपछि बुटवलका सडकमा सर्वसाधारणको आवतजावत पनि पातलिएको छ । 

हुस्सु र शितलहरका कारण भैरहवा बाट हुने आन्तरिक उडान पनि प्रभावित भएका छन् । हुस्सुका कारण आज बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट कुनै पनि उडान हुन नसकेको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया