सिरक डसना बनाएर दैनिक १६ सय सम्म आम्दानी
मोरङ । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिएका मोहम्मद लतिफले तीन देखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहेका छन् । वर्षौँ देखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आएका उनले सिजनमा दैनिक १६ सय सम्म आम्दानी हुने गरेको बताए ।
भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्ष देखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताए । असी वर्षीय उनले भने, “नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ ।”
शुरुआती समयमा एउटा सिरक बनाएको पाँच थियो । अहिले बढेर आठ सय पुगेको लतिफले जानकारी दिए । उनले भने, “दैनिक कम्तीमा दुई वटा सिरक बनाउन भ्याउँछु । घरेलु सामग्री (धुनिया) बाट रुवा फिटेर सिरक डसना बनाउने पर्ने भएकाले समय पनि बढी लाग्छ ।”
घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुतीका कपडाको रुवा बनाउने उपकरण र ट्याक्टर सँगै लिएर हिँड्न थालेकाले पुराना कपडा खेर नजाने बेलबारी–११ की सीता खतिवडाले बताए । “आज भोलि पुराना सुतीका कपडा खेर जाँदैनन्, घरघरमा सिरक डसना बनाउने व्यक्ति आएर सबै पेलेर रुवा बनाइदिन्छन्”, उनले भने ।
तीन देखि पाँच जनाको समूहमा उनहरूले काम गरे । ट्र्याक्टरमा सुतीका पुराना कपडा फिटेर रुवा बनाउने उपकरण लिएर हिँड्ने उनहरूको समूहले दैनिक १० हजार भन्दा बढी कमाइ गर्दै आइरहेको लतिफले जानकारी दिए ।
पछिल्लो समय तयारी अवस्थाका फाइबरका सिरक, डसना लगायत सामग्रीको प्रयोग बढिरहेकाले व्यापार सोचे जस्तो नभएको उनले बताए ।
रासस
प्रतिक्रिया