सुप्रिम सहकारी ठगी प्रकरणमा रवि सहितका प्रतिवादी विरुद्ध आज मुद्दा दर्ता गरिँदै

काठमाडौं । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलन सम्बन्धी पुरक मुद्दा दर्ता आइतबार (आज) जिल्ला अदालत रुपन्देहीमा गरिँदै छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डी.आई.जी. छविलाल जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारबाही र बिगो माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले अदालतमा पुरक मुद्दा दर्ता गर्न लागेको हो । 

यसअघि सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अदालतमा पूरक मुद्दा लैजान नसकेको जनाएको थियो । आज लामिछाने र जोशी लगायतको मुद्दा अदालतमा लैजाने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

यसअघि लामिछाने र जोशी सहित १४ जना विरुद्ध पूरक मुद्दा लैजाने भनिएकोमा केही व्यक्तिहरु थप भएका हुन् । आज लैजाने पूरक मुद्दामा सुप्रिम सहकारी बाट लामिछानेले २ करोड र जिबी राई सम्बद्धहरुको नाम बाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्ति मार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ । 

जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जना विरुद्ध २०८१ वैशाख ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

त्यतिबेला सहकारी ठगी सम्बन्धी मात्र कसुर लगाई १ अर्ब ३ करोड मात्र बिगो माग गरेको थियो । त्यसमध्ये १७ जनालाई पनि सहकारी ठगी र संगठित अपराधको कसुर र बिगो थप सहितको मुद्दा दर्ताको लागि बिहीवार अदालतमा पेश गरेको थियो । 
 

प्रतिक्रिया