म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ ।

रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ । नामिलाका बासिन्दालाई चिमखोलामा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो । बर्खायाममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध हुँदा छिमेकी वडाको कुइनेमङ्गले स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए ।

रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम)का अनुुसार एकाइ बाट नामिला र आसपासको गाउँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन् । “एकाइ खुले पछि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाएर राहत मिलेको छ”, उनले भने, “एक जना अनमीले एकाइ बाट सेवा दिने व्यवस्था मिलाएका छौँ ।” स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोप सम्बन्धी सेवा दिइने वडाध्यक्ष पाइजाले बताए । 

आमा समूहको भवनको कोठामा एकाइ स्थापना गरिएको छ । यसअघि चिमखोलाको पात्ले गाउँमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको थियो । नामिला, पात्लेसहित रघुगङ्गाको ठाडाखानी, कुइनेखानी, रायखोर, दर्मीजा, बादुक, राममन्दिर र मौवाफाँटमा स्वास्थ्य एकाइ स्थापना गरेर स्वास्थ्य सेवा विस्तार गरिएको छ । 

वडास्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा एकाइ स्थापना गरेर सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए । 
रासस 

प्रतिक्रिया