चिसोले सर्लाहीको जनजीवन कष्टकर

सर्लाही ।  तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर भएको छ । चिसो हावा सँगै शीत पनि झरिरहेकाले जनजीवन कष्टकर भएको हो ।

खासगरी तराई क्षेत्रमा हरेक वर्ष हिउँदमा बाक्लो कुहिरो लाग्ने गरेको छ । जलवायु परिर्वतनका कारण यस वर्ष केही फरक देखिएको छ । कुनै दिन चर्को घाम लाग्ने र कुनै दिन बाक्लो कुहिरो लाग्ने गरेको छ । बाक्लो कुहिरोका कारण बिहान सवारीसाधन चलाउन कठिन भएको चालकहरुले बताएका छन् । सवारी साधनले दिउँसै बत्ती बालेर चलाउनुपर्ने अवस्था आएको छ भने दुर्घटनाको जोखिम पनि बढेको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ ।

कुहिरोका कारण किसान खेतीपातीका काममा जान नसक्दा कृषि गति विधि समेत प्रभावित भएका छन् । कुहिरोका कारण हिउँदे बालीनालीमा क्षति भएको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्दराय यादवले जानकारी दिए । 

कुहिरो र चिसो हावाका कारण दैनिक कामकाजमा प्रभावित हुनुका साथै स्वास्थ्य सम्बन्धी समस्या पनि देखापरेको छ । यहाँका बालबालिका, वृद्धवृद्धा र ज्यालादारी गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएका छन् । चिसोका कारण श्वासप्रश्वास, निमोनिया र ज्वरोको समस्या बढ्न थालेको प्रादेशिक अस्पताल डा. अविनाश सिंहले जानकारी दिए। चिसो बाट प्रभावित बिरामीको चाप स्थानीय स्वास्थ्य संस्थामा बढेको स्तुति सौम्य हेल्थ केयर चिकित्सक डा. गुणेश्वर झाले बताए । 

जिल्ला प्रशासन कार्यालयले कुहिरो र चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन जिल्लावासीलाई आह्वान गरेको छ । न्यानो कपडा लगाउन, बिहान बेलुका घर भित्रै बस्न र चिसो बाट जोगाउन बालबालिका तथा वृद्धवृद्धालाई विशेष ध्यान दिन प्रशासनले अनुरोध छ । विभिन्न ठाउँमा न्यानो कपडा वितरण र काठ, दाउरा बाल्ने व्यवस्था समाजसेवी संस्थाले गरेका छन् । 

यसैबीच, जिल्ला प्रशासन कार्यालय सर्लाहीले पर्सा गाउँपालिका–३ र ४ मा चिसो बाट प्रभावित अनिविपन्न गरीब तथा दलित ६८ जनालाई र विष्णु गाउँपालिका–१ बाराका ६१ परिवारलाई फाइबर सिरक वितरण गरेको छ ।
रासस 

प्रतिक्रिया