गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौता इजरायली मन्त्रिपरिषद् द्वारा अनुमोदन
एजेन्सी । गाजा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौतालाई इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ । यो अनुमोदन सँगै आइतबार देखि युद्धविराम लागू हुने छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युद्धविराम प्रस्ताव अनुमोदन गर्ने वा नगर्ने विषयमा घण्टौँ सम्म छलफल भएको थियो । दुई जना मन्त्रीहरूले सम्झौताको विरोधमा मतदान गरेका थिए ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालय र सुरक्षा मन्त्रिपरिषदले युद्धविरामले युद्धको उद्देश्य प्राप्त गर्न सहयोग गर्ने भन्दै अनुमोदन गर्न सिफारिश गरेको समाचारमा उल्लेख छ । हमासले पनि युद्धविराम सम्झौता र बन्धक रिहाइको सम्झौता पारित गरिसकेको छ ।
अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा गत बुधवार राति दोहामा भएको वार्तामा सहमति जुटेको थियो । इजरायलको मन्त्रिपरिषद्ले यो सम्झौता अनुमोदन गरे सँगै १५ महिना देखिको युद्ध रोकिने छ ।
सम्झौताअनुसार हमासले विभिन्न चरणमा ३३ जना बन्धक रिहाइ गर्नेछ भने इजरायलले सयौँ प्यालेस्टाइनी कैदीलाई मुक्त गर्नेछ । इजरायली सेना पनि गाजाको घना बस्ती भएको क्षेत्रबाट फिर्ता हुनेछन् । युद्धविरामको १६ औं दिनमा सम्झौताको दोस्रो र तेस्रो चरणको लागि वार्ता शुरू हुने बताइएको छ ।
हमासले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा १ हजार २ सय मानिसहरूको ज्यान गएको थियो । २ सय ५१ जनालाई गाजामा बन्धक बनाएको थियो । ९४ जना अझै पनि हमासले बन्धक बनाएको छ जस मध्ये ३४ जनाको ज्यान गइसकेको अनुमान गरिएको समाचारमा उल्लेख छ ।
हमासले गरेको आक्रमणको बदलामा इजरायलले गाजामा युद्ध शुरू गरेको थियो । यो युद्धमा अहिले सम्म ४६ हजार प्यालेस्टाइनीहरू मारिएका छन् ।
प्रतिक्रिया