राष्ट्रपति पौडेलद्वारा रथयात्राको अवलोकन

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । आज मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपति रामचन्द्र पौडेलले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गरेका छन् । जात्राका अवसरमा राष्ट्रपतिले श्रीगणेश, श्री भैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिने प्रचलन छ । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरु हुने गर्दछ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा पर्व विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभर भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रजात्राका अवसरमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

प्रतिक्रिया