जिल्ला अदालत काठमाडौंमा रवि लामिछानेको थुनछेक बहस जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा जारी छ । बुधवार थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई अदालतमा उपस्थित गराएसँगै थुनछेक बहस शुरु भएको हो
लामिछानेको तर्फका वकिलले बहस सकेपछि सरकारी वकिलले जवाफी बहस गरेपछि न्यायाधीशले लामिछानेलाई कारागार पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि बाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश गर्नेछन् ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा भएको रकम अपचलन सम्बन्धी मुद्दामा जिल्ला प्रहरी परिसर, काठमाडौंले पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएको छ । सोही मुद्दालाई सघाउन गत आइतबार सभापति लामिछाने आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
स्वर्णलक्ष्मी सहकारीबाट ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरिएको आरोप छ । रविसहितका प्रतिवादीविरुद्ध कास्की, काठमाडौं, रुपन्देहीसहित चितवन र पर्सा प्रहरीले सहकारी ठगी मुद्दा अगाडि बढाएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने कास्की प्रहरीकोे हिरासतबाट ८४ दिनपछि रिहा भएका हुन् ।
प्रतिक्रिया