लमजुङमा बढ्यो धान उत्पादन
लमजुङ । लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल मौसम, उन्नत जातको धानको विउ प्रयोग लगायतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।
केन्द्रका कृषि प्रसार अधिकृत सरोज थापाका अनुसार चालु आर्थिक वर्षमा ९ हजार ३ सय एक हेक्टरमा धानखेती गरिएकामा ३१ हजार १ सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । जबकी गत आर्थिक वर्षमा सोही क्षेत्रफलमा २८ हजार ६ सय ४७ मेट्रिटन धान उत्पादन भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा २ हजार ५ सय ११ मेट्रिकटन धान बढी उत्पादन भएको हो ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३० हजार ९ सय ८६ मेट्रिकटन, आर्थिक वर्ष २०७८/७९ मा ३० हजार ६ सय ९८ मेट्रिकटन, आर्थिक वर्ष २०७७/७८ मा ४४ हजार ४ सय २५ मेट्रिकटन, आर्थिक वर्ष २०७६/७७ मा ४४ हजार १ सय ५५ मेट्रिकटन, आर्थिक वर्ष २०७५/७६ मा ४४ हजार ५ सय ४५ मेट्रिकटन आर्थिक वर्ष २०७४/७५ मा ४३ हजार ८ सय ३० मेट्रिकटन धान उत्पादन भएको थियो ।
जिल्लामा साबित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धानखेती हुँदै आएको छ ।
रासस
प्रतिक्रिया