हमास र इजरायलबीचको लडाइँ रोक्ने सहमतिलाई अन्तिम रूप दिन कतारमा पुःन वार्ता

एजेन्सी । प्यालेष्टाइनको गाजामा लडाइँ रोक्ने सहमतिलाई अन्तिम रूप दिन वार्ताकारहरूले कतारमा फेरि वार्ता गर्न लागेका छन्। 

आइतबार र सोमबार भएको छलफलमा युद्धविराम गर्ने सहमतिका लागि इजरेल र हमास दुवै पक्ष सहमतिनजिकै पुगेका बताइएको छ । त्यसपछि फेरि अर्काे वार्ता हुन लागेको हो । वार्ताको मध्यस्तता कतारले गरिरहेको छ । 

दुई पक्ष युद्धविराम र बन्धक मुक्तिका सर्तहरू टुङ्ग्याउने चरणमा पुगेको उक्त वार्ताबारे जानकार एक प्यालेस्टिनी अधिकारीले बताएका छन् । 

गाजामा युद्ध सुरु भएपछि दुवै पक्षका प्रतिनिधिहरूले पहिलो पटक एउटै भवनमा वार्ता गरेको बुझिएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सहमति सफल हुने “सँघारमा पुगेको“ र आफ्नो प्रशासनले तत्काल सम्झौता गराउन पहल गरिरहेको बताएका छन्।

त्यस लगत्तै प्यालेस्टिनी पक्षले जारी वार्ताबारे जानकारी दिएको हो। एक इजरेली अधिकारीले पनि अन्तर्राष्ट्रिय समाचारसंस्थालाई वार्ता “निकै अगाडिको चरणमा“ पुगेको बताएका छन्। उनका अनुसार केही “घण्टा, दिन वा थप केही समयमा“ सम्झौता हुन सक्ने सम्भावना छ।

७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमा आक्रमण गरेपछि  युद्ध सुरु भएको थियो, जसमा १ हजार २ सय मानिसहरू मारिएका थिए र २५१ जनालाई गाजामा बन्धक बनाएको थियो।

इजरायलले जवाफमा गाजामा सैन्य आक्रमण सुरु गरेको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्धको क्रममा त्यहाँ ४६,५०० भन्दा बढी मानिसहरू मारिएको बताएको छ।

प्रतिक्रिया