बाजुरामा भाइरल ज्वरोले दुई जनाको मृत्यु, दर्जनौँ परिवार बिरामी

बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । अहिले सम्म दुई जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ परिवार बिरामी परेका छन् । भाइरल ज्वरोबाट खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको मृत्यु भएको छ । केही दिनको अन्तरालमा उनीहरूको मृत्यु भएको गाउँपालिकाले जनाएको छ । हिजोदेखि उपचारको लागि हिजो गाउँपालिकाको स्वास्थ्य टोली प्रभावित क्षेत्रमा पुगेको छ । गाउँमा रहेका करिब एक सय ६० बढी परिवार मध्ये धेरै जसो परिवारका सदस्यहरूमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । गाउँमा भाइरल ज्वरो फैलिएको एक हप्ता भइसकेको छ । अधिकांश स्थानीयलाई १०३ डिग्री माथि ज्वरो आउने, खोकी लाग्ने, श्वास फुल्ने जस्ता लक्षण देखा देखा परेका छन् । भाइरल ज्वरोबाट ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगी सबैभन्दा बढी प्रभावित भएका छन् । स्वास्थ्य चौकी एक घण्टा टाढा रहेकाले उपचारमा जान निकै समस्या भएको छ ।

प्रतिक्रिया