पाँचखालका बिरामीलाई निःशुल्क रगत

काभ्रेपलाञ्चोक ।  पाँचखाल नगरपालिकाका बिरामीलाई आवश्यकतानुसार निःशुल्क रगत उपलब्ध हुने भएको छ । यसका लागि जिल्लास्थित रक्त सञ्चार केन्द्र र पाँचखाल नगर कार्यालय बीच सम्झौता भएको छ ।
 
नगरवासीलाई निःशुल्क रगत उपलब्ध विषयक सम्झौता पत्रमा नगरप्रमुख मशेह खरेल र रेडक्रमका जिल्ला सभापति देवेन्द्र भैलले हस्ताक्षर गरेका हुन् ।  सम्झौता अनुसार रगतको सेवा लिनुपर्ने वा लिएका व्यक्ति पाँचखाल नगरपालिकाका स्थायी बासिन्दा भएको (नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ) प्रमाण खुल्ने कागजातका आधारमा निःशुल्क रगत उपलब्ध गराइने भएको हो ।

यस्तै, नगरले हरेक वडामा रक्त सञ्चार सेवा केन्द्रको सहयोगमा आलोपालो गरी वर्षमा कम्तीमा चारपटक रगत सङ्कलन शिविर आयोजना गर्नुपर्ने जनाइएको छ । निःशुल्क सेवाका लागि नगरले अग्रिम ३ लाख रक्त सञ्चार सेवालाई दिनुपर्ने छ । “यो सम्झौताले नगरवासीमा राहत पुग्ने विश्वास लिएका छौँ”, खरेलले भने ।

नगर प्रमु्ख खरेलले कम्तीमा १ करोडको कोषको व्यवस्था गर्न रेडक्रसलाई सुझाव दिँदै कोषको शुरुआतका लागि व्यक्तिगत रूपमा ५० हजार बीउपुँजीको व्यवस्था गरेका हुन् । भैलले पनि रेडक्रसमा कोष व्यवस्थापन गर्न २५ हजार उपलब्ध गराउने बताए । 
रासस 

प्रतिक्रिया