न्यायाधीश सरुवाले मुद्दा सुनुवाइ प्रभावित
पर्वत । जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिन देखि सुनुवाइ प्रभावित भएको छ ।
जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज पौडेलको पुस १२ गते सरुवा भएको हो । उक्त दिन देखि अदालतमा रहेका मुद्दाको सुनुवाइ हुन सकेको छैन।
न्यायाधीश पौडेलको स्थानमा पर्वत जिल्ला अदालतमा अछाम बाट प्रकाश ढुङ्गानाको सरुवा भएको छ । अछाम बाट सरुवा भएका जिल्ला न्यायाधीश कार्य क्षेत्रमा हाल सम्म उपस्थित नहुँदा दैनिक मुद्दा सुनुवाइ रोकिएको पर्वत जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्रप्रकाश खड्काले बताए ।
यौन दुव्र्यवहार घटनाकी पीडित एक महिलाले पटक पटक मुद्दा सुनुवाइ नहुँदा आफूले समयमा न्याय पाउन नसकेको गुनासो गरे । विसं २०८१ वैशाखमा यौन दुव्र्यवहार घटनाकी पीडित ती महिलाको अदालतमा मुद्दा चालु प्रक्रियामा छ । आरोपित पुर्पक्षका लागि थुनामा भए पनि एउटै मुद्दा नौ पटक सम्म इजलासमा पेशी चढेको अदालतको तथ्याङ्कमा उल्लेख छ । तर, नौ पटक सम्म पेशीका रूपमा इजलास पेस भएको मुद्दा ६ पटक विविध कारण देखाएर स्थगन भएको छ भने दुई पटक मात्र आदेश भएको छ । न्यायका लागि अदालतमा आएका सर्वसाधारण पटक पटक मुद्दा सुनुवाइ प्रक्रिया स्थगन हुँदा र समयमा मुद्दा फछ्र्योट हुन नसक्दा समस्यामा परेका छन् ।
पर्वत जिल्ला अदालतमा एउटा मात्र न्यायाधीशको दरबन्दी छ । न्यायाधीश नहुँदा अहिले दैनिक चार देखि आठ वटा सम्म मुद्दाको इजलास बाट सुनुवाइ कार्य स्थगन हुने गरेको छ । सामान्य थुनछेक आदेशकार्य भने नरोकिएको श्रेस्तेदार खड्काले बताए । पछिल्लो समय जिल्ला अदालतमा आर्थिक लेनदेनका मुद्दा सँगै दुनियाबादी देवानी मुद्दाको सङ्ख्या अधिक रहेको उनले बताए ।
प्रतिक्रिया