संयुक्त व्यापार मञ्च बैठक : द्विपक्षीय व्यापार विस्तारमा जोड

काठमाडौं ।  नेपाल–भारत संयुक्त व्यापार मञ्च (जे.बी.एफ.) को दोस्रो बैठक द्विपक्षीय व्यापार विस्तारमा जोड दिँदै सम्पन्न भएको छ । दुई देश बीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको उक्त बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारत नेपालको सबै भन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जे.बी.एफ.को बैठकमा भएका सहमतिलाई दुवै पक्षले कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले दुवै देश बीच आयात निर्यातमा देखिएका समस्या समाधान सहज ढङ्गले हुनेगरी काम गर्नुपर्ने बताए । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मञ्चकोे बैठक बाट प्रस्तुत भएका विषयको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारत बीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यावहारिक समाधान खोजेर अघि बढ्नुपर्ने बताए । सो अवसरमा उनले गैरभन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्यूरो अफ इन्डियन स्ट्यान्डड्र्स (बि.आइ.एस.) को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्ने, भैरहवा र पोखरा विमानस्थल सँग भारतका शहर जोड्ने र नेपालका  जलविद्युत् तथा अन्य निमार्णजन्य विकासका लागि आवश्यक विस्फोटक पदार्थ सहज आपूर्ति आवश्यक भएको बताए । 
 
अध्यक्ष ढकालले मुन्द्रा (गुजरात), धामरा (उडीसा) र जवाहरलाल नेहरू बन्दरगाह (मुम्बई) लगायतका भारतीय बन्दरगाहमा नेपालको पहुँच विस्तारको विषय उठान गरेका थिए । 

नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठककै अङ्गकै रूपमा रहेको जे.बी.एफ. बैठकमा नेपाल र भारतका प्रतिनिधिले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकास लगायत विषयमा छलफल गरेका थिए ।
 
संयुक्त बैठकमा जलविद्युत् र नवीकरणीय ऊर्जा, सौर्य, वायु लगायत परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिमा अनुसन्धान र व्यावसायीकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोग लगायत विषयमा  आवश्यक सहजीकरण गर्ने सहमति भएको छ । 
 
बैठकमा भएका सहमतिका विषयलाई शनिबार नै नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले सो सहमति हस्तान्तरण गरेका थिए । रतका वाणिज्य सचिव बर्थवालले जे.बी.एफ. मा उठेका एजेण्डा कार्यान्यवनका लागि आफ्नो पक्ष बाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देश बीचको आर्थिक मुद्दामा यो बैठक महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यहाँ उठेका विषयमा सहजीकरणका लागि आफ्नो तर्फ बाट पहल गर्ने बताए । सो अवसरमा मञ्चका (नेपाल) अध्यक्ष भवानी राणाले नेपाल–भारत बीच लगानी र व्यापारको व्यापक सम्भावना रहेको तथा त्यस बाट लाभ लिन आवश्यक सहजीकरण हुनुपर्ने बताए । 

यस्तै, भारतीय पक्ष बाट एन सुनिल कुमारले नेपाल–भारत बीच  सडक, रेल र हवाई कनेक्टिभिटीमा सुधार भइरहेकाले आउने दिनमा थप सहजता थपिने बताए । मञ्चको अर्को बैठक भारतको नयाँ दिल्लीमा आयोजना गर्ने सहमति भएको छ ।
रासस 

प्रतिक्रिया