बिमाको रकमबाट निजी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाउछौँ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालमा पनि बिमाको रकमबाट उपचारको व्यवस्था गर्न पाउने व्यवस्था मिलाइने बताएका छन् ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले बिमाको रकमले निजी अस्पतालमा पनि उपचार गर्न पाउने व्यवस्था मिलाउन सरकार लागेको बताएका हुन् ।
“बिमालाई व्यवस्थित बनाउँदै नागरिकको योगदानमा आधारित बिमा प्रणालीको विकास गर्न सरकार लागेको छ”, उनले भने । सरकारले बिमाको रकम रु एक लाखबाट बढाएर पाँच लाख पुर्याएको उनकोे भनाइ थियो ।
स्वास्थ्यमन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा ग्राण्डी अस्पतालले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउँदै सबै नागरिकको पहुँच पुग्नेगरी स्वास्थ्यसेवा प्रदान गर्न सुझाव दिए । स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा नर्सलाई स्वदेशमै बस्ने वातावरण निर्माणमा नेपालका स्वास्थ्य संस्थाहरु लाग्नुपर्ने मन्त्री पौडेलको भनाइ थियो ।
उनले अस्पतालभित्र कार्यरत चिकित्सक तथा नर्समाथि हिंसा गर्नेलाई फौजदारी अभियोगअन्तर्गत मुद्दा चलाउने व्यवस्था भएकाले कार्यक्षेत्रमा ढुक्क भएर काम गर्न आग्रह गरे ।
प्रतिक्रिया