सुदुरपश्चिममा बुढी पोल्ने र मिथिलामा चौरचनको रौनक

मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व आज मनाइँदैछ । हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व जनकपुरधामसहित मिथिलाञ्चलवासीले मनाउने गर्छन । यस क्षेत्रमा छठपछिको दोस्रो ठूलो पर्वका रूपमा चौठचन्द्र पर्व मनाइन्छ । यस पर्वका दिन महिला दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । साँझ सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा द्वीप प्रज्ज्वलन गर्दै उपवास बसेकाहरूले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा रहेको छ । आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । त्यसक्रममा नयाँ माटोका भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी–देवतालाई चढाइने गरिन्छ । दिनभरि निराहार व्रत वा उपासना बसेका महिलाले साँझपख चन्द्रमा उदय हुनु अगाडि दिनमा बनाइएका पूजा र अन्य सामग्री आँगनमा अरिपन बनाई माटोका भाँडामा सजाएर राख्दछन् । चन्द्रमा उदय भएपछि बर्तालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्ने र त्यसपछि परिवारका अन्य सदस्यले पनि त्यसैगरी दर्शन गर्ने प्रचलन छ । यो तिथिमा शुभफल प्राप्त गरेकाले उनकै अग्रसरतामा मिथिलाञ्चलमा यो पर्वको सुरुआत भएको किंवदन्ती छ ।

 

बुढी पोल्ने पर्व

बैतडीसहित सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइदैछ । भाद्र १ गतेदिन गाडिएको ‘बुढी’लाई आज पाल्ने गरिन्छ । ‘बुढी’लाई राक्षशकी पुतनाको संघ्या दिने गरिएको  छ। रुख तथा झ्याङलाई काटेर कुनै सार्वजनिक स्थानमा गाड्नुलाई बुढी हालेको भनिन्छ । यो भाद्र १ गते ओल्के संक्रान्तीको दिन कुनै बाटो वा चौतारामा गाड्ने गरिएको  छ। सोही ‘बुढी’लाई आज पाल्ने गरिन्छ । सबैको घरघरबाट आगोको राँको लिएर ‘बुढी’ गाडेको ठाउँमा गएर बुढी पोल्ने गरिएको छ । यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग जोडिएको छ । भगवान् श्रीकृष्णलाई पुतनाले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको लासलाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको सम्झनामा बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ । बुढीलाई पोलेपछि दुःख कष्ट पनि नास हुने मान्यता रहेको छ । बर्खामा लोगका रोगब्याथालाई पनि बुढीसँगै लिएर जाने विश्वास गरिएको छ । यसलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ ।। 
 

प्रतिक्रिया