विद्यार्थीहरूलाई रोजगारीका अवसरहरूको अभाव छ : शिक्षामन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा शैक्षिक कार्यक्रमहरू उद्यम क्षेत्र र बजारका आवश्यकतासँग मेल खाने बन्न नसकेको बताएकी छिन् ।
त्रिभुवन विश्वविद्यालयद्वारा शनिबार आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भौतिक पूर्वाधारको सीमितता, जनशक्तिको व्यवस्थापनमा सहजता नहुनु, अपर्याप्त पुस्तकालय, प्रयोगशाला र विद्यार्थीको मागअनुसार पाठ्यक्रम र विषयलाई प्राथमिकीकरण गर्न नसक्नु जस्ता विषय विश्वविद्यालयको विकासका बाधक बनेको बताइन् ।
मन्त्री भट्टराईले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान र रोजगारीका अवसरहरूको अभाव रहेको पनि बताइन् ।
’विश्वविद्यालयका स्नातक उपाधि प्राप्त गरेका विद्यार्थीसँग व्यावहारिक ज्ञान र रोजगारीका अवसरको अभाव छ । उपाधि हासिल गरे पनि विद्यार्थीले देशभित्र अवसर प्राप्त गर्न सकिरहेका छैनन् । विदेशलाई पहिलो रोजाइ बनाउँदै पढाइ र रोजगारीका लागि विदेशिने प्रवृत्ति राष्ट्रिय चासोको विषय बनेको छ,’ मन्त्री भट्टराईले भनिन्, ’यस्तो अवस्था हुनुमा हाम्रा शैक्षिक कार्यक्रम बृहत् रूपमा भए पनि उद्यम क्षेत्र र बजारका आवश्यकताहरूसँग मेल खाने बन्न सकेका छैनन् ।’
विश्वविद्यालयले ज्ञान, आविष्कार र विकासलाई योगदान दिनका लागि अनुसन्धान केन्द्रमार्फत अनुसन्धानका कामहरू गरिरहेको पनि मन्त्री भट्टराईको भनाइ थियो ।
प्रतिक्रिया