घनश्याम भुसाल भन्छन्– ओलीजी पार्टी नेतृत्व छाड्नुस्, भीम रावलजी हाम्रो पार्टीमा आउनुस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हटेदेखि नै पार्टीभित्रको माहौल शान्त हुने सुझाव दिएका हुन् ।

नेता भीम रावललाई पार्टीले निष्काशन गरेको विषयमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले एमालेभित्र प्रश्न उठाएपछि सजाय भोग्नुपर्ने अवस्था रहेको बताए । यसबारेमा आफूले एमालेमै रहँदा प्रश्न गरेको भए पनि त्यस बेला प्रतिशोधका लागि प्रश्न आयो भन्ने टिप्पणी भएको उनी बताउँछन् ।

उनले भने, ‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो । कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । शत्रु र चाकरी गर्ने । चाकरी गर्ने शत्रु होइन, भने चाकरी नगर्ने शत्रु हो । उहाँको संसारलाई हेर्ने दृष्टिकोण त्यस्तो छ । भीम रावलले चाकरी गरेनन्, यद्यपि त्यहाँ बसेका सबैले चाकरी गर्दछन्, यस्तो पनि नठान्नुस् ।’

उनले नेता भीम रावललाई आफ्नो पार्टीमा आउन आह्वान समेत गरे । भन्छन्, ‘भीम रावलजीले एमाले छोड्नु उहाँका लागि र हाम्रो लोकतन्त्रका लागि सबैभन्दा राम्रो कुरा हुन्थ्यो । भीम रावलजीको कुरा रह्यो । उहाँले के गर्नुहुन्छ भन्न सक्दिन । नेपाल पार्टी नभएर दुःख पाएको हो की पार्टी राम्रो नभएर हो भन्दा राम्रो पार्टी नभएर दुःख पाएको हो । म हाम्रो पार्टीमा आउन आह्वान गर्दछु ।’

प्रतिक्रिया