देवघाट गाउँपालिकामा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बिमा गर्न शुरु गरेको छ । गाउँपालिकाले अल्पसङ्ख्यक तथा विपन्न समुदायलाई स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यले निःशुल्क स्वास्थ्य बिमा गर्न शुरु गरेको हो । 

पाँचवटै वडामा बसोबास गर्ने सीमान्तकृत बोटे र चेपाङसहित दलित र ब्रामु समुदायका बासिन्दाको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए । गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमाका लागि चालु आर्थिक वर्षमा ११ लाख बजेट विनियोजन गरेको छ ।

पहिलो चरणमा केही परिवारको स्वास्थ्य बिमा गरिएपछि अध्यक्ष थापाले सम्बन्धित परिवारलाई स्वास्थ्य बिमा परिचयपत्र हस्तान्तरण गरेका छन् । उनले भने, “यो कार्यक्रमबाट करिब तीन सय १५ परिवार लाभान्वित हुनेछन् । स्वास्थ्य बिमाका लागि आवश्यक रकम गाउँपालिकाले तिरिदिनेछ ।” 
    
अध्यक्ष थापाका अनुसार ती समुदायका नागरिकका साथै आर्थिक अवस्था कमजोर भएका अन्य स्थानीयको पनि निःशुल्क स्वास्थ्य बिमा गर्ने नीति पालिकाले लिएको छ । 

आर्थिक अभावमा पछाडि पारिएका समुदाय न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर चालु आवदेखि स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गरिएका  उनी बताउँछन् ।

अध्यक्ष थापाले सीमान्तकृत र लोपोन्मुख समुदायका नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारीलगायत अन्य विभिन्न क्षेत्रमा पनि सहयोग गर्ने पालिकाको नीति रहेको उल्लेख गरे ।

प्रतिक्रिया