एभिन्यूजको देशको अर्थतन्त्र सुधार बारे ‘एजेण्डा बहस’ आज मधेशको बीरगंजमा शुरु

काठमाडौं । एभिन्यूज खबर टेलिभिजनले देशको बर्तमान अर्थतन्त्रको अवस्था र सुधार बारे सातै प्रदेशमा शुरु गरेको बहस र अन्तरक्रिया कार्यक्रम पाँचौ दिन आज मधेश प्रदेशको बीरगंजमा शुरु भएको छ । कार्यक्रम बीरगंज उद्योग वाणिज्य संघको सभाहलमा शुरु भएको छ । 
 
“अर्थतन्त्र  तीब्र दबाब र प्रभाब, अब निकास के ?” भन्ने विषय एभिन्यूजले एजेण्डाको रुपमा सातै प्रदेशमा उठाइरहेको हो । एभिन्यूजले  नेपाली अर्थतन्त्रमा परेको दबाव, प्रभाव र त्यसको समाधान बारे सरकारी,सार्वजनिक र नीजि क्षेत्र बीच बृहत रुपमा अन्तरक्रिया शुरु गरेको हो । 

आज बीरगंजमा हुने कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह, अर्थविद् अच्युत वाग्ले, बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल वक्ताको रुपमा रहेका छन् । कार्यक्रममा  बिभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको छ । अन्तरक्रियामा सहजकर्ताको भूमिकामा भने एभिन्यूज खबर टेलिभिजनका अध्यक्ष भाष्कर राज राजकर्णिकार रहेका छन् । 

पौष ५ गते सुदूर पश्चिम प्रदेशको धनगढी बाट शुरु भएको कार्यक्रम पौष ७ गते कर्णाली प्रदेशमा भएको थियो । कर्णाली प्रदेशको कार्यक्रम भने बिशेष कारणले बाँकेको नेपालगञ्जमा भएको थियो । त्यसैगरी पौष ९ गते लुम्बिनी प्रदेशको कार्यक्रम भैरहवामा भएको थियो । यस्तै, बागमती प्रदेशको कार्यक्रम पौष ११ गते चितवनमा भएको थियो ।

यस अघि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशमा भएको बहसमा सहभागीहरुले सरकारी नीतिमा सुधार नगरे सम्म अर्थतन्त्र र व्यवसायी दुवै माथि उठ्न नसक्ने र सरकारी नीति झन्झटिलो भएको भन्दै सहज बनाउन माग गरेका छन् । त्यसमा उनीहरुले देशको अर्थतन्त्र सुधार र लयमा ल्याउन गर्नुपर्ने बिभिन्न उपाय बारे सरकारलाई एभिन्यूज मार्फत सुझाव पनि दिएका छन् ।

सो अन्तरक्रिया कार्यक्रममा नीजि, सरकारी र सार्वजनिक बिभिन्न संघ संस्था र स्थानीय उद्योगी व्यवसायीको सहभागिता रहने एभिन्यूजले जनाएको छ । 

सुदूरपशिचम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशमा कार्यक्रम सम्पन्न गरेपछि एभिन्यूजले आज मधेश प्रदेशमा यो कार्यक्रम आयोजना गरेको हो । मधेश पछि  कोशी प्रदेशको बिराटनगरमा पौष १५ गते र गण्डकी प्रदेशको पोखरामा पौष १८ गते  कार्यक्रम हुनेछ । 

कार्यक्रम एभिन्यूज खबर टेलिभिजनका साथै एभिन्यूजको यूट्युव र फेसबुक पेज तथा एभिन्यूज डट टि.भी. र स्थानीय संचार माध्यममा प्रत्यक्ष प्रसारण भइरहेको छ । 

प्रतिक्रिया