ऐतिहासिक इन्द्रजात्राको तयारी शुरु, मजिपा लाखेको मुकुट निकालेर ‘न्यास’ जगाईयो

काठमाडौँ उपत्यकामा मनाईने इन्द्रजात्राको तयारी सुरु भएको छ । आज विहान भाद्र कृष्ण एकादशीका दिन मजिपा लाखेको मुकुट निकाली आसनमा बिराजमान गराइ पूजा गरि न्यास जगाउने अर्थात प्राण तत्व निकाल्ने कार्यसँगै तयारी सुरु भएको हो । यसको भोलिपल्ट मुकुटमा रंगरोगनको लागि सम्बन्धित चित्रकार परिवारलाई मुकुट हस्तान्तरण गर्ने परम्परा रहि आएको छ । रंगरोगन सबै सकिएपछि लाखे आजुको मुकुटलाई मजिपा लाखेको घरमा भित्र्याई विधिवत पूजा गर्ने प्रचलन छ । 
भाद्र शुक्ल द्वादशीको दिन हनुमानढोकामा यसिं अर्थात इन्द्रजात्राको लिंगो उठाएपछी लाखे आजु बाहिर निस्किने गर्दछन । यसपछि विभिन्न स्थानमा पूजा लिने, नाच्ने र येँया नखः तथा इन्द्रजात्रा पर्वको अविधिभर लाखे नाच देखाउने गरिन्छ  ।
हनुमानढोकामा लिंगो ढालिने दिन मजिपा लाखे आजुलाई भित्र्याउने गरिन्छ । यो बर्ष असोज ९ गते इन्द्रध्वजोत्थान गरिँदैछ । यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । आठ दिने जात्रामा विशेष गरी कुमारी, भैरव र गणेशको पूजा गरिन्छ । यस अवधिमा अनुहारमा विभिन्न देवी देवताका ‘ख्वापाः’ अर्थात् मुखौटा लगाई गुठी र समूहका सदस्य नाच्ने गर्दछन् । भाद्र शुक्लपक्ष ‘यलाथ्व द्वादशी’का दिन इन्द्रध्वजोत्थानबाट सुरु भएको जात्रा ‘यंलागाः चौथी’मा इन्द्रध्वज पतनपछि सकिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । 

प्रतिक्रिया