औषधि विधेयक अन्तिम चरणमा छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधि विधेयक अन्तिम चरणमा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा’ भएको छलफलमा उनले आगामी संसद् अधिवेशनमा औषधि विधेयक प्रस्ताव गर्ने गरी तयारी अन्तिम चरणमा रहेको बताएका हुन् ।
उनले भने, “यो विधेयकमा औषधिका विभिन्न पाटोहरु छन् । उत्पादनको सन्दर्भमा हाल नेपालमा एक सय ७३ औषधि उद्योगले औषधी उत्पादन गरिरहेका छन् । ती उद्योगबाट करिब ५० प्रतिशत हाराहारीमा उत्पादन हुन्छ । कतिपय औषधि, खोपलगायत नेपालमा उत्पादन हुन सक्दैनन् । औषधिमा आत्मनिर्भर हुने कुरा जटिल छ ।”
स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने, कानुनी प्रबन्ध त्यसैअनुसार निर्माण गर्ने र स्वदेशमै उत्पादित औषधि खरिद गर्ने, राज्यले निःशुल्क गरेका औषधि स्वदेशी उत्पादन हुनुपर्नेलगायत विषयमा छलफल गरिरहेको मन्त्री पौडेलले बताए ।
प्रतिक्रिया