४ महिनामा ५ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्ट अनुसार यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.१ प्रतिशतले बढी हो । यो कात्तिक महिनामा मात्रै १ खर्ब १४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । असोजमा हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

अमेरिकी डलरमा चार महिनामा ३ अर्ब ८७ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।

वैदेशिक रोजगारमा जानेको संख्या समेत बढेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४ सय ७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १ सय ५ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४ सय ७५ र ६८ हजार ८ सय ४१ रहेको थियो ।

प्रतिक्रिया