कालीगण्डकी करिडोरको पहिरोग्रस्त क्षेत्रमा सडक  निर्माण रोकियो

नवलपुर (नवलपरासी) । गण्डकी प्रदेशलाई उत्तरबाट दक्षिण जोड्ने प्रमुख राजमार्गको रूपमा निर्माण भइरहेको कालीगण्डकी करिडोरको नवलपुर खण्ड (पहिरोग्रस्त क्षेत्रबाहेक) निर्माण सम्पन्न भएको छ ।

गैँडाकोटबाट पाल्पाको राम्दीसम्मको एक सय ३२ किलोमिटरमध्ये एक सय २७ किमी सडक कालोपत्र गरिएको कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक  खण्ड योजनाले जनाएको छ । योजनाका अनुसार नवलपुरको विभिन्न स्थानमा गरी एक हजार छ सय ८० मिटर पहिरोग्रस्त क्षेत्र भएकाले पाँच किमी सडक निर्माण गर्न सकिएको छैन । 

पहिरो गएको ठाउँ छोडेर यस खण्डको बाँकी सबै काम सकिएको योजनाका सूचना अधिकारी इञ्जिनीयर अरुण खत्रीले जानकारी दिए । पहिलोग्रस्त क्षेत्रमा जोखिम अत्यधिक भएकाले पहिरो जाने ठाउँमा पाँच किमी सडक कालोपत्र नगरी राखिएको खत्रीले बताए । भूविज्ञान तथा भू–प्राविधिक अध्ययनबाट औँल्याइए बमोजिमको डिजाइन एवं प्रविधिबाट पहिरोको रोकथाम तथा सडक स्तरोन्नतिका लागि सडक विभागमा अनुरोध गरिएको योजनाका सूचना अधिकारी खत्रीले बताए । 

  तरङ्गे खोलामा चार सय ५० मिटर, बतासे डाँडाको दुई ठाउँमा गरी दुई सय २० मिटर, मोचडाँडा दुई सय ६० मिटर र मचेडीमा दुई सय २० मिटर पहिरोको जोखिम क्षेत्र रहेको सूचना अधिकारी खत्रीले जानकारी दिए । अन्य स्थानमा पनि सामान्य पहिरो खस्ने गरेकाले सामान्य पहिरो हटाउने गरिएको भन्दै ठूला पहिरो हटाउन बढी समय लाग्ने गरेको सूचना अधिकारी खत्रीले बताए । कालीगण्डकी कोरिडोरअन्तर्गत गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा नवलपुरको गैँडाकोटबाट रामपुर–पिपलडाँडा–राम्दी–रानीमहल–रिडी–हर्मीचौर हुँदै बलेवा खण्ड करिब दुई सय ४० किमी रहेको उनले जानकारी दिए । 

गण्डकी प्रदेशको दक्षिणी सिमाना नवलपुरको त्रिवेणी भन्सारबाट उत्तरी नाका कोरलासम्म पुग्नेगरी सडक निर्माण भइरहेको छ । हालसम्म दक्षिण खण्डको भौतिक प्रगति ६६ दशमलव ५५ प्रतिशत भएको भन्दै योजनाका सूचना अधिकारी खत्रीले आर्थिक वर्ष २०८३/८४ सम्म सडक निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जानकारी दिए । करिडोरको यस खण्डअन्तर्गत पर्ने दुई सय ४० किलोमिटर सडकमध्ये नवलपुरमा मात्रै ७८ किलोमिटर पर्दछ ।
रासस
 

प्रतिक्रिया