विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण, कानुन कार्यान्वयन र विपद् व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढङ्गबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
बाग्मती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा बिशिबार आयोजित ‘शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अन्तरप्रदेशस्तरीय कार्यशाला गोष्ठी’मा मन्त्री लेखकले संविधानले दिएको जिम्मेवारी र दायित्व कार्यान्वयन गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिउका छन् ।
गृहमन्त्री लेखकले संविधानतः सहकारिता, समन्वय र सहअस्तित्वमा आधारित सङ्घीयता मुलुकले अङ्गीकार गरेको उल्लेख गर्दै तीनै तहको समन्वयमा प्रशासनिक कार्य अघि बढाइनुपर्नेमा जोड दिए ।
मुलुकको शान्ति सुरक्षाको अवस्थामा खासै ठूलो चुनौती नभए पनि अपराधका नयाँ आयामले चिन्ता थपेको मन्त्री लेखकाको भनाई छ । घृणाष्पद अभिव्यक्तिमार्फत समाजलाई गलत ढङ्गबाट प्रभावित गर्ने शृङ्खला बढिरहेको उल्लेख गर्दै गृहमनत्री लेखकले यस्ताखालका अपराध नियन्त्रणमा कुनै सम्झौता नगरी निर्मम ढङ्गले प्रस्तुत हुनुपर्ने बताए ।संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको पनि मन्त्री लेखकले उल्लेख गरे ।
गृहमन्त्री लेखकले प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने स्पष्ट पारे । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले शान्ति सुरक्षा प्रदेश सरकारको अधिकार भए पनि आवश्यक संरचना नहुँदा प्रदेश सरकारले परिणाम देखाउन नसकेका बताए ।
कार्यक्रममा विभिन्न प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुले प्रदेश सरकारका अधिकारसम्बन्धी कानुन तत्काल निर्माण गरेर सङ्घीय सरकारले प्रदेश सरकारको अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सातै प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिवले भूगोल, जनसङ्ख्या, जनघनत्व, शान्ति सुरक्षा, अपराध नियन्त्रण, जोखिम, अवसर र चुनौतीसहितको प्रस्तुति राखेका थिए ।
प्रतिक्रिया