आज कृष्ण जन्माष्टमी, कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस अवसरमा देशभरीका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै श्रद्धालु भक्तजनहरु व्रत बसी रातभर जाग्राम बस्ने गर्छन् । यस अवसरमा पाटनको मंगलबजार स्थित प्रसिद्ध कृष्ण मन्दिरलगायत देशभरका कृष्ण मन्दिरहरुमा विशेष मेला लाग्ने गर्दछ । पाटनको कृष्ण मन्दिरभित्र भक्तजनलाई प्रवेशमा रोक लगाएपनि बाहिरैबाट दर्शन गर्नेको भिड लागेको हो । कृष्णमन्दिरमा दर्शनका लागि राष्ट्रपति रामचन्द्र पौडेलपनि दिउसो तीन बजे जाने कार्यक्रम छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवं वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको शास्त्रीय वर्णन छ ।कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं कृष्णको मुखबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ हो । कृष्ण अष्टमीका अबसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया