नेपालमा समेत उडान भर्ने भारतको इन्डिगो विश्वका १० खराव एयरलायन्स भित्र
एजेन्सी । कहिले यात्रुको लगेज हराइदिने,कहिले यात्रुप्रति राम्रो व्यवहार नगर्ने र यात्रुको गुनासो प्रति उत्तरदायी नबन्ने गरेको भनेर बिवादमा पर्दै आइरहेको भारतको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगो अहिले विश्वको सबैभन्दा खराब एयरलाइन्सको सूचीमा परेको छ ।
बिश्वका बिभिन्न गन्तब्य र नेपालमा समेत उडान भर्दै आइरहेको यो एयरलाइन्स एक सर्वेक्षणबाट बिश्वको दश सबैभन्दा खराव एयरलाइन्स मध्येमा गनिएको हो ।
हवाइ उडानबारे जानकारी दिने र सर्वेक्षण गर्दै आइरहेको एयरहेल्प इंक नामको संस्थाले गरेको सर्वेक्षणमा सन् २०२४ को खराब एयर लाइन्समा इन्डिगो परेको हो । एयरहेल्प इंकले आफ्नो सर्वेक्षणमा विश्वको सबैभन्दा खराब र उत्कृष्ट एयरलाइन्सलाई समावेश गरेको छ । यसमा इन्डिगोको नाम विश्वको दश खराब एयरलाइन्समा परेको हो । तर, इन्डिगोले भने सर्वेक्षणमा प्रश्न उठाएको छ ।
सर्वेक्षण कसरी गरियो ?
एयरहेल्प इंकले सार्वजनिक गरेको रिपोर्टमा (एयरहेल्प स्कोर रिपोर्ट २०२४) उडान र अवतरण समयका आधारमा प्रतिवेदन तयार पारिएको जनाएको छ । जहाजमा यात्रा गर्ने यात्रुसँगको कुराकानीका आधारमा पनि जानकारी सङ्कलन गरिएको उसको भनाई छ ।सर्वेक्षण प्रतिवेदनमा उडानमा दिइने खानाको गुणस्तर, उडानमा आरामदायी यात्रा र चालक दलका सदस्यहरूले प्रदान गर्ने सेवा समावेश छन्।
यति मात्र होइन, एयरलाइन्सले यात्रुको गुनासो कसरी सुन्छ र कुन समयमा समाधान गर्छ भन्ने पनि सर्वेक्षणमा समावेश गरिएको छ । यो सर्वेक्षण सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्मको तथ्यांकका आधारमा गरिएको हो ।
सर्वेक्षणको उद्देश्य के हो?
एयरहेल्पका प्रमुख कार्यकारी अधिकृत थोमस पावलिसिनले यो सर्वेक्षण किन गरिएको हो भन्ने बारे स्पष्ट पारेका छन्। पावलिसिनका अनुसार यो सर्वेक्षण एयर लाइन्सको कार्य सम्पादनको स्पष्ट तस्बिर दिनको लागि हो।एयरलाइन्सले यात्रुको समस्यामा ध्यान दिने मात्र नभई समाधान पनि गर्ने विश्वास लिएको यो सर्वेक्षणको उद्देश्य रहेको उनको भनाई छ ।
कति नम्बरमा छ इन्डिगो?
इन्डिगो विश्वमा सबैभन्दा खराब प्रदर्शन गर्ने एयरलाइन्सहरू मध्ये १०३ औं स्थानमा छ। संसारको सबैभन्दा खराब एयरलाइन्स ट्युनिसियाको ट्युनिस एयर हो। यो १०९ औं स्थानमा छ। दोस्रो सबैभन्दा खराब एयरलाइन्स पोलिश एयरलाइन्स बज हो। बज १०८ औं स्थानमा छ।
सबैभन्दा राम्रो एयरलाइन्स कुन हो?
सर्वेक्षण अनुसार सबैभन्दा राम्रो एयरलाइन्स ब्रसेल्स एयरलाइन्स हो। यो बेल्जियमको एयरलाइन्स हो। विश्वमै आफ्नो सेवाका लागि चर्चित कतार एयरवेज दोस्रो स्थानमा आएको छ ।यसैगरी सर्वेक्षणमा अमेरिकाको युनाइटेड एयरलाइन्स, आइसल्याण्डको प्ले, अस्ट्रियाको अस्ट्रियन एयरलाइन्स, पोल्याण्डको पोलिश एयरलाइन्स, युएइको एयर अरेयिबा, नर्वेजियन एयर लायन्स लगायत उत्कृष्ठ १० भित्र परेका छन् ।
कुनै पनि भारतीय एयरलाइन्स राम्रोमा परेनन्
विश्वको शीर्ष १० उत्कृष्ट एयरलाइन्समा कुनै पनि भारतीय वायुसेवा परेको छैन । उता इन्डिगोले भने यो सर्वेक्षण अस्वीकार गरेको छ । उसले एयरहेल्पको सर्वेक्षण प्रतिवेदन बाहिरिएपछि यसमाथि आशंका गरेको छ । उसले सस्तो उडान र उडानको विश्वसनियतामा ध्यान दिएको दाबी गरेको छ । भारतको उड्डयन नियामक निकाय डाइरेक्टोरेट जनरल अफ सिभिल एभियशन(डीजीसीए) ले एयरलाइनको समयनिष्ठता र ग्राहक गुनासोहरूमा मासिक डाटा प्रकाशित गर्ने गर्छ । डीजीसीएले इन्डिगोले समयनिष्ठतामा लगातार उच्च स्कोर गरेको दाबी इन्डिगोको छ ।
प्रतिक्रिया