नेपालमा डेङ्गु सङ्क्रमितको सङ्ख्या २१ हजार नाघ्यो

भदौ र असोजमा सङ्क्रमण उच्च हुने सरकारको प्रक्षेपण

नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । महाशाखाले भदौ र असोजमा डेङ्गु संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ । पानी परिरहेकाले डेङ्गी सङ्क्रमण दैनिक रूपमा बढेको हो । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको ज्यान गएको थियो ।  सङ्क्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरी जिल्लाका छन् । महाशाखाका अनुसार सुनसरीमा ११ हजार छ सय ५९ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाडौँमा चार सय २७, धनकुटामा तीन सय ३६, संखुवासभामा दुई सय ७२ जनामा संक्रमण देखिएको छ । त्यसैगरी, कास्कीमा दुई सय ६०,  दार्चुलामा एक सय ९४ र ललितपुरमा एक सय ७४ जना डेङ्गुका बिरामी भेटिएका छन् । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले पारेको फुलबाट निस्कने लार्भा बयस्क भएर टोकेपछि लाग्ने गर्दछ ।

प्रतिक्रिया