स्थानीय तह उपनिर्वाचनको मतदानको समय सकियो

काठमाडौं । आज भएको स्थानीय तहको उपनिर्वाचनको मतदानको समय सकिएको छ । 

आज आइतबार बिहान ७ बजेदेखि जारी मतदान साँझ ५ बजे सकिएको हो । निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरेको थियो । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको पनि आयोगले जनाएको छ । यो उपनिर्वाचनमा ४१ पदका लागि  ३७६ उम्मेदवार मैदानमा रहेका थिए ।  नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो ।

४४ पदका लागि बिभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेकोमा तीन पदमा निर्विरोध निर्वाचित भएपछि ४१ पदमा मात्रै निर्वाचन भएको हो । आयोगका अनुसार कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसकी टीका कुमारी चौधरी र ओखलढुङ्गा  जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै उम्मेदवार टेकराज भट्टराई  निर्विरोध निर्वाचित भएका हुन् । 

यस्तै रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षममा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । यो उपनिर्वाचनलाई राजनीतिक दलहरुले प्रतिष्ठाको बिषय बनाएका छन् । मतपेटिका संकलन लगत्तै मतगणना शुरु हुने पनि आयोगले जनाएको छ । 
 

प्रतिक्रिया