महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई कुलमान घिसिङको पत्राचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । उनले ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका छन् ।
पत्रमा बक्यौता नबुझाउने उद्योगका लगानीकर्ता अन्य कम्पनीको सञ्चालक भए सेयर जारी गर्न, हक हस्तान्तरण गर्न र धितो बन्धक दिन नपाउने गरी रोक्का राखी बक्यौता महसुल असुल उपर गर्न सहयोग गरिदिन कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पनि अनुरोध गरिएको छ । घिसिङले पत्रमा २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका उद्योगको नाम र बक्यौता रकम उल्लेख गरेका छन् ।
प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउनका लागि बैंक खाता रोक्का गर्ने उपाय अपनाएका हुन् । उनले बैंक खाता रोक्का गर्ने पत्राचारको जानकारी नियमनकारी निकाय विद्युत् नियमन आयोगलाई पनि गराएका छन् ।
प्रतिक्रिया