भारत बाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षा सँगै आएको बाढीको समस्याका बाबजुद उनले ५० हजारको लागतमा तरकारीखेती गरे । तर मण्डललाई  उचित मूल्य पाउन भने समस्या भएको छ ।

भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारी भन्दा महँगो पर्छ । 

भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँ बाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहताले बताए । “नेपालमा मलखाद, बीउ बिजन देखि सिँचाइ सम्म महँगो पर्ने भएकाले भारतीय तरकारी सँग प्रतिस्पर्धा गर्न सकिएको छैन”, उनले भने । 

इनरुवा–४ का रामदेव मेहताले दैनिक रूपमा भारत बाट आउने तरकारीका कारण स्थानीय उत्पादन बिक्री गर्न समस्या हुने गरेको बताउछन् । तरकारी खेती गर्न भारतमा भन्दा नेपालमा महँगो पर्ने भएकाले भारतीय किसान सँग प्रतिस्पर्धा गर्न समस्या भएको स्थानीय किसान बताउँछन् । 

अहिले भारत बाट आउने बन्दागोभी प्रतिकिलो २० देखि  ३० सम्ममा बिक्री हुने गरेको छ । नेपाली किसानलाई सोही मूल्यमा बिक्री गर्नुपर्दा लगानी असुल नहुने स्थानीय किसान चन्दन मेहताले बताए । देवानगञ्ज बजारमा भारत बाट भित्रिने तरकारीको मात्रा बढे सँगै यहाँका किसानले उत्पादन गरेको तरकारीको मूल्यमा गिरावट आएको छ ।
 
भारत बाट सस्तो मूल्यमा आलु, प्याज, गोलभेँडा, काउली, बोडी, भण्टा र सागपात बजारमा भित्रिए पछि स्थानीय उत्पादन बिक्री गर्न समस्या भएको किसानले बताएका छन् । उत्पादन गरेको तरकारीले मूल्य नपाउँदा किसानको लगानी डुब्नुका साथै तरकारीखेतीलाई निरन्तरता दिन समस्या भएको किसान बताउँछन् । भारतबाट आउने तरकारीमा कडाइ गर्न तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय तह सँग किसानले माग गरेका छन् ।
रासस 

प्रतिक्रिया