भारतीय अर्बपति अडानी सहित ७ जना विरुद्ध अमेरिकाले लगायो ठगीको आरोप

एजेन्सी । न्यूयोर्कको सङ्घीय अदालतले भारतीय अर्बपति गौतम अडानी सहित सात जनालाई २५० मिलियन डलर ठगी र घूस खोरीको आरोप लगाएको छ । 

अभियुक्तहरूमा सागर, विनीत जैन, अडानी  ग्रीन एनर्जी लिमिटेडका अधिकारीहरू र गौतम अडानीका भतिजाहरू पनि रहेका छन् । संयुक्त राज्य अमेरिकाको अभियोजकको कार्यालय बाट जारी भएको प्रेस विज्ञप्तिअनुसार अडानीले सौर्य ऊर्जाको ठेक्का प्राप्त गर्न भारतीय अधिकारीहरूलाई २५० मिलियन डलर भन्दा धेरै घूस दिने वचन दिएका थिए । 

अमेरिकी न्याय विभाग अनुसार, उनीहरुले भारतमा घूस दिएर परियोजना माग गरेको र विदेशी लगानीकर्ता तथा बैंकलाई झुट बोलेको पाइएको छ । अडानीले पूर्ण योजना बनाएर अनुसन्धानमा बाधा पुर्‍याउने प्रयास गरेको पनि आरोपमा उल्लेख छ । 

सन् २०२० देखि २०२४ सम्म, अडानी सहित सबै अभियुक्तहरू भारत सरकारको सौर्य ऊर्जा सम्झौता प्राप्त गर्न भारतीय अधिकारीहरूलाई २५० मिलियन डलर डलरको घूस दिन इच्छुक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनएका छन् । 

अडानीले व्यक्तिगत रूपमा भारत सरकारका एक अधिकारीलाई भेटेर योजनालाई अगाडि बढाएका थिए । अदालतका अनुसार अडानी समूहले घूसको यो अभियोजन रोक्नको लागि ग्रान्ड जूरी, एफ.बी.आई. र अमेरिकी सेकुरिटी एण्ड एक्सचेन्ज कमिशन (एसईसी) को अनुसन्धान रोक्न षड्यन्त्र रचेको समाचारमा उल्लेख छ । 
 

प्रतिक्रिया