पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ ।
देशभित्र खपत गरी बढी भएको बर्खायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारत तर्फ निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ४ महिनामा भारत तर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रति युनिट ७ रुपैयाँ ६३ पैसा छ ।
भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत् निर्यात शुरु भइसकेको छ । भारत सँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढी पहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरू र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए ।
सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरू मध्ये सबै भन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीका संरचनामा पहिरोले क्षति पुर्याउँदा विद्युत् उत्पादन बन्द छ । यस बाट चालु आर्थिक वर्षमा राखिएको करिब ३० अर्ब विद्युत् निर्यातको लक्ष्य समेत प्रभावित हुने देखिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजना बाट उत्पादित ९ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । गत आर्थिक वर्षमा भारत बाट १६ अर्ब ९३ करोडको विद्युत् आयात गरिएको थियो ।
प्रतिक्रिया