पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च ६ प्रतिशतमा सीमित

वीरगञ्ज । सङ्घीय सरकार मातहतका पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको ४ महिनामा ६ दशमलव ०८ प्रतिशत पुँजीगत खर्च गरेका छन् ।  

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सा स्थित ६६ सरकारी कार्यालय तथा पालिकाका लागि पुँजीगत तर्फ वार्षिक २ अर्ब ५८ करोड २७ लाख ८६ हजार सात सय ५० विनियोजन भएकामा चालु आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा १५ करोड ६९ लाख ३३ हजार पाँच सय २८ खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले सङ्घीय सरकार मातहतका सरकारी कार्यालयले चालु आर्थिक वर्षको ४ महिनामा पुँजीगत खर्च नगन्य मात्रामा गरेका बताए । “चालु आर्थिक वर्षको कात्तिक मसान्त सम्मको अवधिमा नयाँ बोलपत्र ‘डकुमेन्ट’ बनाउने देखि बोलपत्र आह्वान सम्मका काम हुने भएकाले पुँजीगत खर्च बढ्न नसकेको हो”, उनले भने, “अब चाडबाड र वर्षायाम पनि सकिएकाले सरकारी कार्यालयको पुँजीगत खर्च बढ्ने अपेक्षा गरेका छौँ ।”  

पर्साका सरकारी कार्यालयको वार्षिक चालु खर्च तर्फ १० अर्ब ४६ करोड १४ लाख ७५ हजार चार सय ९९ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको ४ महिनामा कूल विनियोजित रकमको २८ दशमलव २५ प्रतिशत अर्थात् २ अर्ब ९५ करोड ५५ लाख ८० हजार दुई सय ३८ रकम खर्च भएको छ । पर्साका सरकारी कार्यालयले सोही अवधिमा  ६५ अर्ब ७३ करोड २९ लाख २५ हजार १ सय १६ राजस्व सङ्कलन गरेका छन् ।

रासस 

प्रतिक्रिया