नरदेवी श्वेतकाली अजिमाको १२ वर्षे देवीनाच आजबाट शुरु हुँदै

काठमाडौं । नरदेवी श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच आज बुधबार साँझ ५ बाट शुरु हुने भएको छ । 

सो देवीनाच मंसिर ५ गतेदेखि ८ गतेसम्म नचाइने छ ।  आज मंसिर ५ गते बुधबार द्यः छेँबाट नाच शुरु भइ नरदेवी यट्खा हुँदै राति ८ बजे कालभैरव डबलीमा प्रवेश गर्ने छ । त्यहाँ राति १ बजेसम्म पहिलो चरणको देवी नाँच देखाइने छ । राति १ बजेसम्म नाच प्रस्तुत गरेपछि देवी नाचको पहिलो चरण सम्पन्न हुनेछ। 

यस्तै मंसिर ६ गते बिहान ६ बजेबाट दोस्रो चरणको देबी नाच आरम्भ भएर दिनभर प्रदर्शन गरी साँझ ८ बजेसम्म सम्पन्न हुनेछ। 
म्ंसिर ७ गते साँझ ६ बजेबाट देवीनाच थाना अगाडीको डबलीमा प्रवेश गरी तत् पश्चात मध्यरात १ बजेसम्म पहिलो चरणको देवी नाच प्रदर्शन गरिनेछ । 

यस्तै मंसिर ८ गते बिहान  ६ बजेबाट देवीनाच आरम्भ भइ दिनभर नाच प्रदर्शन गरी साँझ ७ बजेसम्म सम्पूर्ण कार्य सम्पन्न गरिनेछ । त्यसपछि पुनः डबलीदेखि देवीनाच फिर्ती सवारी गरी राति ९ बजेसम्म देवीलाई नरदेवी स्थित देवीको द्यः छेँ घरमा फिर्ती प्रवेश गराएर कार्यक्रम समापन गरिनेछ । नाच प्रदर्शन समितिले यस पुण्य अवसरमा सहभागी हुन सबैलाई आग्रह गरेको छ । 

नरदेवी (ङतभुलु) श्वेतकाली अजिमाको मन्दिर निर्माण लिच्छवि राजा गुणकामदेवले नवौँ शताब्दीमा गराएको इतिहासमा उल्लेख छ । ङतभुल अजिमालाई श्वेतकाली भगवती भन्ने पनि गरिन्छ । यो मन्दिर  काठमाडौँ महानगरपालिका वडा नं. १८ मा अवस्थित छ । 
श्वेतकाली अजिमा  भगवतीको आराधना गर्नाले सुख, समृद्धि र मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।

वंशावलीअनुसार कलिगत संवत् ३८२५ मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देशको रक्षार्थ नगरका चारैतिर लुमडी अजिमा, कङ्ग अजिमा, म्हेपी अजिमा, मैती अजिमा, तकती अजिमा, ङेतमरु अजिमा, बछला अजिमा र लुती अजिमा स्थापना गरी खटजात्रा चलाएका थिए । 


 

प्रतिक्रिया