भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत हौँ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जातीय सद्भावमा बलियो शक्ति हुने भएकाले भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत रहन आग्रह गरेका छन् ।

राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको स्मृति दिवसका अवसरमा पद्मरत्न तुलाधर लुमति गुठीद्धारा आयोजित कार्यक्रममा मन्त्री गुरुङ्ले धार्मिक, सांस्कृतिक र जातीय विविधताबीच एकताको महत्वबारेसमेत चर्चा गरेका हुन् ।
    
मन्त्री गुरुङले राष्ट्रिय विभूति साख्वा राष्ट्रिय एकताको प्रतिक भएको उल्लेख गर्दै भाषा संरक्षणको दिगोपनका लािग घरबाटै मातृभाषाको अभ्यासलाई निरन्रता दिनुपर्नेमा जोड दिए ।
    
नेपाल संवत्को महत्वलाई राज्यले महत्व दिएर अघि बढने मन्त्री गुरुङले बताए । नेपाल भाषासँग सिङ्गो नेपालको सार्वभौमिकता जोडिएको उनको भनाइ थियो । 

“संयुक्त राष्ट्रसङ्घले समेत नेपाल भाषीको देश नेपाल हो भनेर चिनेको छ । त्यसैले नेपाल भाषाको महत्व, नेपाल संवत्को महत्व, नेपाल मण्डलको महत्वलाई राज्यले जहिल्यै पनि महत्व दिएर अघि बढनेछ”, उनले भने ।

प्रतिक्रिया