उपविजेता बनेको नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रधानमन्त्रीले ३ लाख र काठमाडौं महानगरले २५ लाख दिने

काठमाडौंं । साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेका नेपाली फुटबल टोलीका खेलाडीहरूले जनही तीन लाख रुपैयाँ पाउने भएका छन् । बुधबारको फाइनलमा बंगलादेशसँग पराजित नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिइने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको हो । त्यस्तै मुख्य प्रशिक्षकले दुई लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले १ लाख २० हजारका दरले पुरस्कार पाउने छन् ।

आज नै प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमा नेपाली फुटबल टोलीका सदस्यहरूसँग ’लन्च मिटिङ’ समेत गरेका छन् । बुधबार नेपाल र बंगलादेशबीचको खेल हेर्न प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंहसहितका नेताहरूसमेत रंगशाला पुगेका थिए ।

त्यस्तै बुधबार काठमाडौं महानगरले नेपाली महिला फुटबल टोलीलाई सम्मानस्वरूप २५ लाख रुपैयाँ उपलब्ध गराएको छ । नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएलगत्तै बुधबारै सोल्टी होटलमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपमेयर सुनीता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले एन्फा अध्यक्ष पंकज नेम्बाङको रोहबरमा नेपाली महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया