बञ्चरेडाँडाको आयु बढाउँदै महानगर

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ ।

सोका लागि कामपाले स्रोतमा उत्पादन भएको फोहरको २० प्रतिशत मात्रै उक्त स्थानमा लैजाने गरी तयारी थालेको कामपा वातावरण विभागले जनाएको छ । स्रोतमा उत्पादन भएको फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्था गर्नेगरी तयारी थालिएको विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । राईका अनुसार बाँकी फोहर व्यवस्थापनका लागि बोलपत्र आह्वानको काम भइसकेको छ । 

यसअघि कामपाको ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यको फोहर निजी सङ्घसंस्थाले व्यवस्थापन गर्दै आएको थियो । अब सबै वडाको फोहर व्यवस्थापनको काम कामपाले गर्ने प्रमुख राईले बताइन् । 

कामपाले पुनः प्रयोग गर्न सकिने फोहर सोही अनुसार व्यवस्था गर्ने, कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने तयारीसहित अत्यन्तै थोरै फोहर मात्रै बञ्चरेडाँडा लैजाने योजना बनाएको हो । अहिले काठमाडौं उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार छ सय मेट्रिक टन फोहर व्यवस्थापनको काम भइरहेको विभागले जनाएको छ ।  

साबिकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत दुई वर्षदेखि अन्तिम फोहर व्यवस्थापन स्थलका रुपमा बञ्चरेडाँडालाई प्रयोग गरिँदै आइएको छ । यसरी उपत्यकामा उत्पादन भएको सबै फोहर व्यवस्थापन गर्दा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमा नै फोहरको वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।   

सबै फोहर लैजाने हो भने यसको अवधि १५ वर्षमा सकिने अनुमान गरिएकाले कामपाले स्रोतमा फोहर वर्गीकरण गरेर घटाउने काम अघि बढाएको विभागका प्रमुख राईले उल्लेख गरिन् । 

बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने, फोहरबाट ग्यास उत्पादन गर्नेलगायत काम गर्ने कामपाको तयारी छ । उपत्यकाका १८ स्थानीय तहको फोहर दैनिक रुपमा उक्त स्थानमा लग्ने गरिएको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन काम हुँदै आएको हो । 

रासस

प्रतिक्रिया