मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा

काठमाडौं ।  नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत योगदान पुर्‍याएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ ।

नेपाल भाषाका साहित्यकारका रुपमा निरङ्कुश शासनकाविरुद्ध तथा स्थापनाका लागि साहित्य सिर्जना गरी जनता माझ जागरण ल्याउन तुलाधरले  पुर्‍याएको योगदानको चर्चा गरिएको हो । 

‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’द्वारा मङ्गलबार काठमाडौंको शङ्खधर उद्यानमा आयोजित छैठौँ स्मृतिसभामा मानवअधिकार, शान्ति, मातृभाषा तथा साहित्यकारकारुपमा योगदानको स्मरण गर्दै तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गरियो । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुआयामिक व्यक्तित्वका धनी पद्मरत्न साहित्यकार, प्रहसन, हाँस्य व्यङ्ग्यकार तथा जनप्रिय नेताका रुपमा स्थापित रहेको बताए । 

आन्दोलन र जेलमा मात्र होइन मन्त्री र विभिन्न मोर्चामा रही सहकार्य गरेको घटना सुनाउँदै प्रधानमन्त्री ओलीले आन्दोलनलाई सफलतामा  पुर्‍याउने र विटमार्ने सम्मको यात्राको सहकार्य गरेको नेपाली राजनीतिज्ञ तथा अग्रज व्यक्तिका रुपमा पद्मरत्न रहेको बताए ।

त्यसअवसरमा तुलाधरकी छोरी सुम्निमा तुलाधरले पद्मरत्न आफना पिता मात्र नभइ नेपाली जनताको मुक्तिका निम्ति अग्रसर नेताकारुपमा रहेको स्मरण गरिन् । 

पद्मरत्न लुमन्ति गुथिका अध्यक्ष डा. केशवमान शाक्यले प्रजातन्त्रको पुनःबहालीको जन आन्दोलनमा प्रजातान्त्रिक र वामपन्थी शक्तिलाई एउटै मोर्चामा रहन तुलाधरले गरेको योगदानको स्मरण गरे ।
 
नेपाल भाषाको साहित्य लेखनमा नाटक र प्रहसन विधामा विशिष्ट योगदान पुर्‍याएका तुलाधर नेपाल जनजाती महासङ्घका सभापति समेत रहेका थिए ।

दश वर्ष माओवादी सशस्त्र द्वन्दका बखत माओवादीलाई शान्ति वार्तामा ल्याउन सहजकर्ताका भूमिका खेलेका तुलाधरको २०७५ कात्तिक १८ गते निधन भएको थियो । त्यस अवसरमा नेपाली साहित्यका धरोहर साहित्यकार कवी दुर्गालाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।
रासस
 

प्रतिक्रिया