साढे २९ तोला सुनसहित बुटवलमा २ जना पक्राउ
काठमाडौं । बुटवलमा राजस्व छली गरी ल्याएको साढे २९ तोला बढी सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार सोमबार राति १० बजेको समयमा पश्चिमबाट पूर्व जाँदै गरेको लु.२ ख.६५४२ नम्बरको बसमा खानतलासी गर्दा साढे ४९ लाख मूल्य बराबरको उक्त सुन बरामद भएको हो।
राजस्व छली गरी अवैध रूपमा सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा बसका कण्डक्टर कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं। ८ बस्ने वर्ष ३३ को अकबर अलि मिया सुनसहित पक्राउ गरिएको बुटवल प्रहरीले बताएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं.८ रामनगरस्थित पूर्व पश्चिम राजमार्गमा बस रोकेर खानतलासी गर्दा मियाले दायाँ खुट्टाको जुत्ताभित्र खैरो रातो बुट्टे लेडिज ब्यागमा लुकाएको अवस्थामा बिस्कुट आकारको दुई थान सुन बरामद भएको प्रहरीको भनाइ छ ।
२९ तोला ५८.१ लाल तौलको उक्त सुनको बजार मूल्य ४९ लाख ५४ हजार ८१७ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले मियासहित अर्घाखाँची सुनचादी पसलका सञ्चालक सन्तोष सुनार समेतलाई पक्राउ गरी थप अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको प्रहरीले बतायो ।
प्रतिक्रिया