छठ पर्वका लागि बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ

जलेश्वर (महोत्तरी) । छठ पर्व नजिकिँदै गर्दा अहिले महोत्तरीका डोम समुदायलाई बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको छ । 

छठमा बाँसका डोको, डालो लगायत सामग्रीको माग बढी आउने भएकाले यहाँका डोम समुदाय व्यस्त छन् ।गाँस, बास र कपासका लागि बाँसका भाँडाकुँडा बनाउने पेसा पुर्खादेखि हस्तान्तरण हुँदै आएकाले यसलाई निरन्तरता दिएको जलेश्वर नगरपालिका–२ का भोगिन्द्र डोमले बताए। छठमा माग बढी हुने भएकाले कात्तिकभरिको कमाइबाट चाडपर्व मनाउने अवसर प्राप्त हुने उनको भनाइ छ ।

 जिल्लाको जलेश्वर, मटिहानी, पिपरा, औरही, गौशाला, सम्सी, सोनमा, रामगोपालपुर, एकडारा, मनरालगायत स्थानमा बसोबास गर्ने डोम समुदाय छठ पर्वका लागि बाँस र बेतबाट डालो, नाङ्ग्लो, टालु, टपरीलगायत भाँडाकुँडा बनाउन व्यस्त भएका हुन् । 

बाँसको चोयाबाट डालो, नाङ्ग्लो बुन्दै गरेकी मनरासिस्वा नगरपालिका–१ की ७० वर्षीया बेचनी डोमिनले भनिन, “कात्तिक लाग्नेबित्तिक्कै घरका सबैले बिहानदेखि बेलुकासम्म डालो, नाङ्ग्लो र टालु टपरी बनाउने काम पाएका छौँ । छठमा यी सामग्री बेच्दा मनग्य आम्दानी हुने भएकाले यसलाई अवसरका रुपमा लिएका छौँ ।” 

 छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाट बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका  भाँडाकुँडाहरु किन्नुपर्दछ । 

छठको आगमनसँगै डोम समुदायका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने विश्वास रहेको पिपरा–१ का बिकाउ डोमले बताए । सोही कारण दिनरात व्रतालुहरुका निम्ति बाँसका भाँडाकुँडा बनाउने गरेको उनको भनाइ छ । 

सम्सी गाउँपालिका–४ का मनोज डोमले डालो, नाङ्ग्लो र टालु टपरी बेचेर कात्तिक भएको आम्दानीले वर्षभरिको खर्चको जोहो गर्ने बताए ।

सोनमा गाउँपालिका–३ का विजय डोमले घरका बालकदेखि बुढासम्मले डालो, नाङ्ग्लो बेचेर प्रतिव्यक्ति  २० हजार देखि र २५ हजार र प्रत्येक परिवारले एक लाख रुपैयाँ सम्म आम्दानी गर्ने गरेका जानकारी दिए । पछिल्लो समय छठ पर्व मनाउनेको सङ्ख्यामा वृद्धि हुँदै जाँदा बजार माग पनि बढी भएको उनको  भनाइ छ ।

प्रतिक्रिया