डहरे खोलामा पक्की पुल निर्माण सुरु

काठमाडौं । गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड अन्तरगत डहरे खोलामा पक्की पुल निर्माण सुरु भएको छ । लामो समयदेखि नागरिकहरुले सास्ती भोग्दै आएको डहरे खोलामा पक्की पुल निर्माण शुरु गरिएको हो । आईतबार पुलको शिलान्यास गर्दै गुल्मी क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद एवम् नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले बर्षौदेखि नागरिकले खेप्दै आएको ठुलो सास्ती चाँडै अन्त्य हुने बताए ।

उनले वर्षौदेखि नागरिकहरुले पाउँदै आएको दुःख र सास्तीलाई बुझेर समयमै काम सम्पन्न गर्न निर्माण व्यावसायीलाई आग्रह समेत गरे । रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड हुँदै बाग्लुङ्को बुर्तिवाङ्सम्म आवजतजावतका लागि अतिनै ब्यस्त हुने डहरे खोलामा पक्की पुल नहुँदा नागरिकहरुले ठूलो समस्या भोग्दै आईरहेका थिए ।

रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डमा चार वटा पुलहरुको प्याकेजमा निर्माण शुरु गरिन लागिएको हो । एउटै ठेक्का मार्फत डहरेसहित नादेवा, भार्से र गिदीखोलामा पुल निर्माणको सम्झौता भएको छ । पुल निर्माणका लागि राजेश्वरी–लुम्बिनी जेभीले सम्झौता गरेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । निर्माण व्यावसायीले ०८० जेठ २२ गते पुल निर्माणको सम्झौता गरे पनि पुलको डिजाइन पनि निर्माण व्यावसायीले नै गर्नुपर्ने भएकाले ढिला गरी काम शुरु भएको हो ।

उक्त पुलको ०८२ साउन २२ गते निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ । चारवटै पुल निर्माणका लागि २२ करोड ३१ लाख रुपैयाँ लागत लाग्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सरकारले काम गरेको रकम समयमै भुक्तानी गरे सम्झौता समय अगाडिनै पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यावसायी भागवत गिरीले बताए ।

प्रतिक्रिया