फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताएका छन् ।  

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले आइतबार आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाए’ विषयक कार्यशालामा प्रधानन्यायाधीश राउतले अपराध अनुसन्धानमा व्यावसायिक क्षमता विकास गर्नसके फौजदारी न्याय प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गरे । 

प्रधानन्यायाधीश राउतले प्रभावकारी फौजदारी न्याय प्रणालीको विकास गर्न अपराध अनुसन्धानमा नवीनताको विकास गर्न जरुरी रहेको पनि औँल्याए।

न्याय प्रणालीलाई थप प्रभावकारी र छिटोछरितो बनाउन सरोकार राख्ने निकायबीचको समन्वय बढाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रधानन्यायाधीश राउतले वैज्ञानिक, वस्तुनिष्ठ र प्रमाणका आधारमा अनुसन्धान गर्न जरुरी रहेको उल्लेख गरे ।

संविधान र कानुनको सिद्धान्तका आधारमा न्यायलाई नतिजामुखी बनाउन सफल अनुसन्धानले सहयोग गर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश राउतले कार्यशालाले न्यायलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

यसैगरी कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले कतिपय अपराध अनुसन्धाका फाइल हेर्दा अनुसन्धान अपुरै रहेको देखिने गरेको भन्दै यसतर्फ अनुसन्धान अधिकृतहरुको ध्यानाकर्षण गराए । 

यस्तै गृहसचिव गोकर्णमणि दुवाडीले कार्यशालाले फौजदारी न्यायप्रणाली सुधारका विषयमा महत्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास गरिएको बताए । दुवाडीले  राज्यका निकायप्रति नागरिकको विश्वास जगाउनु चुनौती खडा हुँदै गएको बताउँदै प्रविधिको विकाससँगै अपराधमा पनि नयाँ शैलीको प्रयोग हुन थालेकाले अनुसन्धानलाई थप प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरे ।  

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले कसुरको वैज्ञानिक र वस्तुनिष्ठ प्रमाणले स्वच्छ र निष्पक्ष न्याय प्रथान गर्ने बताउँदै सफल अनुसन्धानले नेपाल प्रहरीको शाख र गरिमा बढाउने उल्लेख गरे ।  महानिरीक्षक कुँवरले  प्रमाणमुखी अनुसन्धानलाई प्रहरीले जोड दिएको पनि बताए । 

रासस
    
 

प्रतिक्रिया