बर्षातजन्य विपदमा ज्यान गुमाएकाहरुको परिवारलाई राहत वितरण

काठमाडौ। सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ। गत असोजको दोस्रो साता आएको विपदमा परी ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायता स्वरूप प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले राहत रकम वितरण गरेको हो। हालसम्म प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

बाढीपहिरोमा परी २३८ जनाले ज्यान गुमाएका थिए। १७७ जना घाइते भएका छन् भने १८ जनाको अवस्था अझै अज्ञात छ। पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने क्रम जारी छ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी विपद्का ज्यान गुमाएका काभ्रेपलाञ्चोक जिल्लामा ७९ जना मृतकका परिवारमध्ये ७८ जनाका परिवारलाई राहत रकम वितरण भइसकेको छ । त्यहाँ मृतक १ जना बालकको कागजी प्रक्रियामा रहेकाले परिवारलाई चाँडै राहत रकम दिइनेछ ।

त्यसैगरी ललितपुरमा मृत्यु भएका ४६ मध्ये ४५ जनाका परिवारलाई रकम हस्तान्तरण गरिएको छ भने एक जनाको हकदार यकिन नभएकाले रोकिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रवक्ता तिवारीका अनुसार काठमाडौँमा १९ जना मृतकका परिवार, भक्तपुरमा चार, झापामा २, पाँचथरमा ७, धनकुटा र उदयपुरमा १र१, सोलुखुम्बुमा ५, इलाममा १, ओखलढुंङ्गामा १, महोत्तरीमा २, सप्तरीमा १, सर्लाहीमा ३ र रौतहटमा ४ जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

त्यसैगरी गृह मन्त्रालयबाट सिराहामा १, मकवानपुरमा ७, धादिङका ३६, सिन्धुपाल्चोक र दोलखामा ७/७, रामेछापमा १, सिन्धुलीमा ३ र रुपन्देहीमा २ जना मृतकका परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराइएको छ ।

विपद‍्मा परी ज्यान गुमाएका मध्ये १२ जनाका परिवारलाई राहत वितरण कार्य प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया